झापा , असार २८ । भारतमा गोलभेँडाको मूल्य आकासिएको छ ।

त्यसैले भारतीयहरू गोलभेँडा किन्न नेपालमा आइरहेका छन् । उत्तराखण्डको पिथोरागढ जिल्लास्थित नेपाल-भारत सीमा पार गरेर भारतीय गोलभेँडा किन्न आइरहेका छन् । सीमा नजिकै रहेको धारचुला र वनबासाका बासिन्दा भारतमा तोकिएको मूल्यभन्दा आधा सस्तोमा गोलभेँडा किन्न नेपाल आइरहेका छन् । भारतमा हाल गोलभेँडाको मूल्य प्रति केजी १२० देखि १३० सम्म छ । जबकि नेपालमा १०० देखि ११० रुपैयाँ (६२-६९ भारु) मा एक किलो गोलभेँडा पाइन्छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियासँगको कुराकानीमा नेपालको दार्चुलाका बासिन्दा कमल जोशीले नेपालका व्यापारीले हाल दोब्बर बढी आम्दानी गरिरहेको बताएका छन् । भारतमा मनसुनको समयमा तरकारीको मूल्य आकासिने नेपालका किसानले बुझेपछि पछिल्ला केही वर्षदेखि किसानले अन्नको साटो तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारीलगायत गोलभेँडाको खेती गरेर भारतमा मूल्य बढेका बेला बेच्ने गरेको जोशी बताउँछन् ।

जोशीका अनुसार किसानले काउली, पालुङ्गो लगायतको खेती गरेर भारतीय बजारमा मूल्य बढेका बेला बेच्ने गर्छन् । नेपाल नजिकै रहेको उत्तराखण्डको पिथोरागढ र चम्पावत जिल्लामा सीमा पारको व्यापार साधारण छ । दुवै देशका जनता पुल तरेर एक अर्काको बजार जाने गर्छन् । पिथौरागण्को झुलाघाटका तरकारी विक्रेता तथा स्थानीय व्यापारी सङ्घका प्रमुख सुरेश कुमारले भने, ‘स्थानीय बाहेक व्यापारीले पनि नेपालबाट गोलभेँडा किन्न थालेका छन् । केही स्थानीय व्यापारीले ४० रुपैयाँ प्रतिकिलोमा ठुलो परिमाणमा गोलभेँडा किनेका छन् । साधरणतया आलु , प्याजलगायतका तरकारी भारतबाट नेपालमा आउने गर्छन् । तर अब स्थिति फेरिएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्