झापा, असार २९ । बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

दुई दिनदेखि भइरहेको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवाखोलामा बनाइएको डाइभर्सन बगाएको हो ।

असार २ गते आएको बाढीले हेवाखोला पुल बगाएपछि पटक–पटक डाइभर्सन गरिए पनि बाढीले बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

यसअघि असार १२,१३ र १८ गते बनाइएका डाइभर्सन पनि बाढीले बगाएको थियो । पछिल्लो पटक असार २५ गते पेनस्टक पाइप राखेर डाइभर्सन गर्दै सडक खुलाइए पनि दुई दिन नबित्दै पुनः बगेको हो ।
बुधबार साँझको बाढीले डाइभर्सनको सतह पार गर्दै छेकबारका लागि राखिएका ढुंगामाटो सबै बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । हेवाखोलाको उद्गमबिन्दु फालेलुङसँगै विभिन्न स्थानमा राति वर्षा भएपछि खोलामा पानीको मात्रा बढेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्