बिर्तामोड , असार २९ । बिर्तामोड नगरपालिकाले वडा नं ५ का सचिव विमल पोखरेललाई कार्वाही गर्ने गरेको निर्णयविरुद्ध नगरका दशैवटा वडाका वडा सचिवहरु आन्दोलित भएका छन् ।

उनीहरुले वडा नं ५ का सचिव पोखरेललाई त्यहाँबाट हटाउने निर्णयविरुद्ध नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै अहिलेको यस परिस्थितिमा नगरका १० वटै वडाका वडा सचिवहरु नगरपालिकाले फेरबदल गरे अन्य सबै वडामा जान तयार रहेको तर उक्त ५ नं. वडामा हाजिर भई कामकाज गर्न नसक्ने चेतावनी दिएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले वडा नं. ५ का सचिव पोखरेलले समय पालना र नियमितताको विषयमा आफ्नो गल्ती स्वीकार गरी सच्चिएर जान्छु भन्दा पनि वडा अध्यक्ष रोहित प्रसाईले व्यक्तिगत रिसिवी राखी ‘मलाई उक्त सचिव चाँहिदैन’ भनी मिडियावाजी गर्ने, स–साना विषयमा रिस राखी अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्ने र नियम कानुनभन्दा बिपरितको काम गर्न दवाव दिने गरेको जस्ता कारणले कर्मचारी हतोत्साही हुनुका साथै कामकाजमा समेत वाधा पुग्ने देखिएको जनाएका छन् ।

हिजो बसेको बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले वडा सचिव पोखरेललाई कारवाही गर्ने गरेको निर्णयप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाइएको छ । ई–हाजिरीलाई आधार मानेर कारबाही गर्ने हो भने भोलि आईपर्ने बाढी, पहिरो, आगलागी, डुबानजस्ता प्राकृतिक प्रकोप तथा महामारीजस्ता बिषम परिस्थितिमा कार्यालयभन्दा बाहिरको समयमा वडा सचिवले काम गर्ने कि नगर्ने ? कार्यालय समयभन्दा बाहिर बिहान बेलुका गरेको स्थलगत कार्यको मूल्याङ्कन हुने कि नहुने, ई– हाजिरीको आधारमा कारबाही गर्दा नगरपालिकामा कार्यरत सबै कर्मचारीहरुको हाजिरी चेक गर्ने कि नगर्ने जस्ता प्रश्न खडा भएको उनीहरुले जनाएका छन ।

ज्ञापनपत्रमा वडा नं १ का सचिव टीका अधिकारी, २ का सचिव हिमा खनाल , ३ का सचिव भीम अधिकारी , ४ का सचिव नन्दलाल आचार्य , ५ का सचिव बिमल पोखरेल , ६ का सचिव रूपमान थलङ , ७ का सचिव प्रविन पौडेल , ८ का सचिव वेदप्रकाश अधिकारी, ९ का सचिव सुवासकुमार बि.क र १० का सचिव दुर्गाप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै झापा जिल्ला वडा सचिव हकहित मञ्चले पनि एक प्रेस विज्ञप्ति जारी गरी वडा सचिव पोखरेललाई साधारण प्रक्रिया वा बिनाप्रक्रिया, नीति नियमविपरित, कर्मचारीलाई नसिहत दिने, मानहानी गर्ने, अपहेलना गर्ने, आत्मबल गिराउने जस्ता अमानवीय व्यवहार कसैबाट भएको पाइएमा त्यसको विरुद्धमा झापा जिल्लामा भएका १३१ वडा कार्यालयबाट विरोध कार्यक्रम गर्ने चेतावनी दिएको छ । साथै मेचीनगर नगरपालिका कार्यालयको राजस्व शाखाका अधिकृतलगायत कर्मचारीप्रति भएको भौतिक आक्रमणको समेत निन्दा गरेको छ । उक्त अमानवीय भौतिक आक्रमणमा संलग्न जो कोहीलाई कानुनको कठघरामा ल्याई कार्बाही गर्न मञ्चले माग गरेको छ ।मञ्चका अध्यक्ष भोसकुमार थुलुङ र सचिव खगेन्द्रप्रसाद लिङ्देनले जारी गरेको विज्ञप्तिमा जनतासँग सबैभन्दा पहिला सम्पर्कमा आउने जनताको हरेक सुखदुःखमा समय पावन्दीविना रातबिहान सेवा प्रवाहमा तल्लीन हुने वडा सचिवहरुलाई सानोतिनो कमजोरी तथा बाध्यतामा, मनमुटावमा, अपहेलना गर्ने, गालीगलौज गर्ने, बेइज्जत गर्ने, व्यक्तिगत जीवनमा असर पुर्याउने जस्ता क्रियाकलाप विरुद्धमा घोर भर्त्सना गरिएको छ । यस्तो प्रवृतिको विरोधको लागि जहिले जतिवेला पनि तयार रहेको जानकारी गराउँदै विर्तामोड नगरपालिका कार्यालयका १० वटै वडा सचिवहरुको माग र प्रेस विज्ञप्तिप्रति आफ्नो ऐक्यबद्धता रहेको मञ्चले जनाएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा हिजो बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने, कार्यालयमा पटकपटक ढिलो आउने, चाँडो जाने तथा कार्यालय समयमा कार्यालयको कामबाहेक स्वीकृति नलिई कार्यालय छोड्ने जस्ता विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकले सचिव पोखरेलको ई–हाजिरी तथा हाजिरी पुस्तिकाबाट आवश्यक अभिलेख लिई स्वीकृति बिनाको अनुपस्थिति, विदा, आवश्यक हुनुपर्ने कार्यालय समयावधिको हिसाव गरि निजामती सेवा नियमावली २०५० को नियम ५५ बमोजिम नपुग समयको गयलकट्टी गर्ने समेत निर्णय गरेको थियो ।बैठकले वडा नम्बर ५मा अब अर्कै वडा सचिवले कामकाजको जिम्मा पाउने गरी नगरभित्रकै कुनै वडाबाट एक जना सचिव उक्त वडामा पठाउने निर्णय गरेको थियो।

वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहीमा असर परेको भन्दै वडाध्यक्ष प्रसाईले गत मंगलबारदेखि नगरपालिकाको कार्यालय अगाडी टेवल कुर्सी राखेर धर्ना सुरु गरेका थिए ।
वडाध्यक्ष प्रसाईले हिजोको बैठकले माग सुनुवाई गरेका कारण धर्नाको कार्यक्रम स्थगित गरी आजदेखि वडा कार्यालयबाटै सेवा सुचारु गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्