बिर्तामोड , असार ३१ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरबीच दुईपक्षीय सम्झौता भएको छ ।


शनिवार बिर्तामोडमा भएको सो सम्झौतामा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादव र राजिव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुधिरकुमार रावलले हस्ताक्षर गरेका छन् । दुई क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधिका ज्ञान, सीप साटासाट गर्ने, राजिव गान्धी अस्पतालमा उपचारमा गएका नेपाली विरामीको फलोअपको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुई अस्पतालबीच टेली मेडिसिन प्रविधिबाट विरामीको उपचारमा सहयोग गर्ने, पूर्वाञ्चल अस्पतालका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुलाई समय समयमा तालिम गराउने, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने सेवाको लागि राजिव गान्धी रिफर गरिएका विरामीलाई सिधै सम्बन्धित चिकित्सकबाट उपचारको व्यवस्था मिलाउने , पूर्वाञ्चल क्यान्सर अस्पतालबाट रिफर भएर गएका विरामीहरुको सम्पूणर् खर्चको १० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै राजिव गान्धी अस्पतालका निर्देशक डा. रावलले पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा मात्र नभएर भारतको पश्चिम बंगाल, गुवाहटी, सिक्किम राज्यमा नै प्रविधियुक्त सम्पन्न अस्पताल नभएको बताए । उनले नेपालमा क्यान्सर उपचारको टिम प्रविधिसहितको यति आधुनिक एकिकृत अस्पताल रहेको भन्ने कुरा आफै आएर हेरेपछि मात्र थाहा पाएको बताए ।
डा. रावलले राजिव गान्धीमा क्यान्सरको उपचारको लागि जाने विरामीमध्ये १५ प्रतिशत नेपाली विरामी हुने गरेको समेत जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले अस्पताल स्थापना भएको अढाइ वर्षमा नै राजिव गान्धी जस्तो संस्थासंग सहकार्य गर्न पाउनु पूर्वाञ्चल क्यान्सर अस्पतालले दिएको सेवाको विश्वसनीयता भएको बताए । राजिव गान्धीसंगको सम्बन्धले पूर्वाञ्चलमा कार्यरत चिकित्सक नर्स लगायतस्वास्थ्यकर्मीका लागि थप अध्ययनको लागि बाटो खुलेको, पूर्वाञ्चलमा विरामीले थप सेवा पाउने र राजिव गान्धीमा फलोअपको लागि जाँदा लाग्ने खर्च कम हुँदा विरामीलाई नै फाइदा हुने बताए ।
डा. यादवले पूर्वाञ्चलमा हुन नसक्ने वोनम्यारो ट्रान्सप्लान्टलगायत केही सेवाको लागि राजिव गान्धीमा यहीको निदानका आधारमा सिधै विरामीले सेवा पाउने जानकारी दिए ।

विएण्डसी मेडिकल कलेजका प्रिन्सिपल तथा रेडियोलोजी विभाग प्रमुख प्रा.डा. उमेश शर्माले २५ वर्षे युवा राजिव गान्धी र अढाइ वर्षे वालक पूर्वाञ्चलबीच भएको ऐतिहासिक सम्झौताले नेपालमा क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्