एजेन्सी। सात पटकका बेलन डी अवार्ड विजेता अर्जेन्टिनी स्टार लियोनल मेसीले अमेरिकी ब्यवसायिक लिग खेल्न इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् ।

मेसी मेजर लिग सकर (एमएलएस) क्लबमा आबद्ध हुने चर्चा निकैअघि चले पनि उनले इन्टर मियामीसँग शनिबार मात्र सम्झौता गरेका हुन् । ३६ वर्षीय मेसी फ्रान्सेली क्लब पेरि सेन्ट जर्मन (पीएसजी) बाट इन्टर मियामीमा आबद्ध भएका हुन् । स्पेनिस क्लब बार्सिलोना छाडेर पीएसजी पुगेका मेसीले त्यहाँ एक सिजन बिताएका थिए । उनीसहितको टोलीले पीएसजीलाई घरेलु लिगको उपाधि पनि चुमाएको थियो । मेसीले पहिलो पटक अमेरिकामा ब्यवसायिक फुटबल खेल्न लागेका हुन् । ‘ब्यवसायिक खेल जीवनको नयाँ अध्याय सुरु गरिरहँदा म निकै उत्साही छु,’ इन्टर मियामीसँग सम्झौता गरेपछि मेसीले भनेका छन् । उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान पनि हुन् । मेसीकै कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कतार विश्वकपको उपाधि जितेको थियो । ‘हाम्रो सपना साकार भएको छ,’ सम्झौता आदानप्रदान कार्यक्रममा इन्टर मियामीका मालिक डेभिड बेकह्यामले भने । उनी आफै पनि चर्चित पूर्वफुटबलर हुन् ।

इन्टर मियामीको तर्फबाट मेसीले पहिलो खेल जुलाई २१ तारिखमा खेल्नेछन् । उक्त खेलमा इन्टर मियामीले क्रुज अजुलको सामना गर्नेछ । एमएलएस तालिकामा मेसी आबद्ध इन्टर मियामीको वर्तमान अवस्था निकै निराशाजनक छ । एक सिजन पीएसजीमा रहँदा मेसीले क्लबका लागि ७५ खेल खेल्दै ३२ गोल गरेका थिए । उनले फ्रेन्च लिगमा पीएसजीका लागि १६ गोल गरेका थिए भने १६ गोलका लागि पास उपलब्ध गराएका थिए । उनी २१ वर्ष बार्सिलोनामा बिताएर पीएसजीमा आबद्ध भएका थिए । मेसीले बार्सिलोनाका लागि कीर्तिमानी रुपमा ६ सय ७२ गोल गरेका थिए । उनले बार्सिलोनालाई १० पटक घरेलु लिगको उपाधि पनि चुमाएका थिए । यसका अतरिक्त उनले बार्सिलोनालाई चार पटक च्याम्पियन्स लिग र सात पटक स्पेनिस कपको उपाधि जिताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्