झापा , साउन १ । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमाले प्रवेश गरेका थिए । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । पार्टी कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्