बिर्तामोड , साउन १ । आर्थिक वर्ष २०७९–०८० मा बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज भएको छ ।

नगरपालिकाको ९ करोड ३२ लाख ४७ हजार १७७ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो । संघीय र प्रदेश सरकारको अनुदान रकम फ्रिज भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ । संघीय सशर्त अनुदानमा चालुतर्फ ३२ करोड १८ लाख ८० हजार रुपैयाँ आएकोमा २९ करोड ३९ लाख १० हजार ४६५ रुपैयाँ खर्च भएको छ । जुन ९१.३१ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ १७ करोड ६१ लाख ३५हजार रुपैयाँ आएकोमा १० करोड ५२ लाख ६४ हजार ९५८ रुपैयाँ मात्र खर्च भएको छ । जुन ५९.७६ प्रतिशत हो । त्यस्तै विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा १ करोड ३० लाख आएकोमा त्यस शीर्षकको बजेट करिव शतप्रतिशत खर्च भएको लेखा अधिकृत तेजिन्द्र तामाङले बताए ।

त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानतर्फ २ करोड ६६ लाख ९८ हजार रुपैयाँ आएकोमा २ करोड ६२ लाख २८ हजार १५६ रुपैयाँ खर्च भएको देखिन्छ । जुन ९८.२४ प्रतिशत हो । त्यस्तै प्रदेशको समपूरक अनुदानतर्फ १ करोड रुपैयाँ आएकोमा ७८ लाख ७ हजार ४५८ रुपैयाँ अर्थात ७८.०७ प्रतिशत खर्च भएको छ । त्यस्तै यस वर्ष आन्तरिक आयतर्फ बिर्तामोड नगरपालिकाको ७ करोड ४० लाख १८ हजार १६६ रुपैयाँ खर्च हुन नसकेको लेखा अधिकृत तामाङले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७८–०७९ मा बिर्तामोड नगरपालिकाको १८ करोड ४३ लाख ४२ हजार १५३ रुपैयाँ फ्रिज भएको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रगति राम्रो भएका कारण फ्रिज रकम आधा घटेको लेखा अधिकृत तामाङले बताए । बुट्टावारी–प्याकुरेल सडकको करिव साढे ६करोड , मातृ तथा नवशिशु कार्यक्रमको करिव १ करोड रकम यस वर्ष फ्रिज भएको उनले जानकारी दिए ।

यस वर्ष बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ३१ करोड ३ लाख ६४ हजार ८४१ रुपैयाँको रहेको थियो । बजेटमा आयतर्फ १ अर्ब १८ करोड ३१ लाख २५ हजार ६४५ रुपैयाँ रहेको थियो । त्यस्तै खर्चमा जम्मा १ अर्ब १ करोड ९८ लाख ६० हजार ३०१ रुपैयाँ रहेकोमा चालुतर्फ ९८ करोड ८८ लाख ४३ हजार ३६८ , पुँजीगततर्फ ४१ करोड ६५ लाख १६ हजार ९३३ र वित्तीय व्यवस्थापनतर्फ १ करोड ५ लाख रुपैयाँ छुट्याइएको थियो । यस वर्ष कुल बजेटको ८५.८६ प्रतिशत खर्च भएको देखिन्छ । चालुतर्फ भने ९२.३४ प्रतिशत र पुँजीगततर्फ ८३.८१ प्रतिशत खर्च भएको लेखा अधिकृत तामाङको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्