झापा , साउन २ । सङ्खुवासभामा गत असार २ गते राति बाढीमा परी बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निणर्य गरिएको छ ।

हालै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यो निणर्य गरेको हो । बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी पहिरोमा परी बेपत्ता भएकालाई मृतकसरह राहत उपलब्ध गराउन निणर्य गरेको हो । बेपत्ताहरू खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो। बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिम प्राप्त कुकुर लगाएर खोजी गर्दा समेत फेला पार्न नसकेपछि मृतकसरह राहत उपलब्ध गराउन पहल गर्ने निणर्य गरेको हो । बेपत्ता भएका २० मध्ये एकजनाको शव एक महिना पछिफेला परेको थियो ।

गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोजी गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतकसरह नै राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निणर्य गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतकसरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निणर्य गरेको उनको भनाइ छ । बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरका १६ जना, अपरहेवाखोला जलविद्युत् आयोजनाका १ जना, अमर कन्ट्रक्सन (सडक निर्माण कम्पनी)का एकजना र पहिरोमा परी सभापोखरी-३ सुनाम्लामा दुईजना गरी हालसम्म २० जना बेपत्ता रहेका छन् । उनीहरूलाई अब मृतकसरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो। बाढी र पहिरोले सङ्खुवासभामा २९ घर विस्थापित भएका छन्। तीमध्ये १४ घर पूणर् क्षति र १५ घरमा आंशिक क्षति भएको छ।

बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् ब्यवस्थापन समितीले जनाएको छ । जिल्लाभर पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुंगे पुल गरी १३ वटा क्षति भएको छ । हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवातजावात नै बन्द भएको छ । जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट-२ आम्राङलगायत १३ वटा हाइड्रो पावरमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ भने ३ वटा ठूला खानेपानी आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्