भद्रपुर, साउन २ । मेची प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ ।


भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासंग छलफल गरी अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान कार्यान्वयन गर्दै सुर्तीजन्य वस्तु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । वडा कार्यालयले अस्पताल वरिपरिका पसललाई बेचबिखन बन्द गर्न भदौ १ गतेसम्म अन्तिम म्याद समेत दिएको छ ।
‘अस्पताल वरिपरि सुर्तीजन्य वस्तु तथा मदिरा बेचबिखन गर्न नपाउने कानून छ,’ वडाध्यक्ष सुब्बाले भने– कानुन कार्यान्वयन गर्दै सरोकारवाला सबैलाई नियमको पालना गर्न आग्रह गरेका छौं । तर, बेचबिखनमा त्यहाँका व्यवसायीहरूले अटेर गरे जरिवानासम्म गर्न बाध्य हुने गरी वडा कार्यालय अगाडि बढेको हो । ‘
स्थानीयबासीका अनुसार प्रादेशिक अस्पताल भद्रपुरको सय मिटर वरपर एक दर्जनभन्दा बढी पसलमा मदिरा र अधिकांश पसलमा गुट्खा तथा चुरोट बिक्री हुने गरेको छ ।

वर्षौ अगाडि ल्याइएको कानूनअनुसार सार्वजनिक सरोकारका स्थल, विद्यालय, मठमन्दिर तथा अस्पतालको सय मिटर वरपर सुर्तीजन्य तथा मदिरा बिक्री वितरण गर्न पूर्ण रूपमा बन्देज लगाइएको भए पनि सरोकारवाला सरकारी निकायकै बेवास्ताले कानून मिचेर मदिरा तथा सुर्तीजन्य वस्तुको व्यापार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्