झापा , साउन ३ । करिव तीन वर्षअघि झापामा स्ट्रवेरी खेती गरेको गोल्यान समूहले एकाएक चर्चा कमायो । चर्चा यतिधेरै फिजियो कि बाह्रदशी –१ मा लगाइएको स्ट्रवेरी खेती हेर्न चितवनसम्मका मानिसहरु आइपुगे। तर, त्यो चर्तिकला धेरै दिन टिकेन ।व्यावसायिक खेती गर्नुभन्दा पनि सहुलियतको कृषि ऋण पचाउन मात्र त्यो नाटक गरिएको कुरा सावित भएको छ ।

सर्वसाधारण किसानले खेतीपातीका लागि दुईचार लाख कृषि ऋण पाउन हम्मेहम्मे परिरहँदा गोल्यान समूहले झापामा खेती गर्नका लागि करोडौंको सहुलियत ऋण लिएको तथ्य बाहिर आएको हो । गोल्यान समूहका संचालक पवन गोल्यान ‘क’ वर्गको वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको अध्यक्ष हुन् । नेपाल बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष रहेका पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्य पनि हुन् । राजनीतिक रुपमा राम्रो पहुँच भएका गोल्यानले पहुँचकै भरमा किसानले पाउनुपर्ने करोडौंको सहुलियत ऋण हत्याएको देखिन्छ । कुमारी बैंक ,एसबीआई बैंकलगायतबाट उनले दुई प्रतिशत अति सस्तो व्याजदरमा कृषि ऋणको सहुलियत लिएका हुन् । बैंक तथा वित्तीय संस्थाले गरिब र किसानहरूलाई अनिवार्य दिनु पर्ने सहुलियतपूर्ण ऋण गोल्यानलाई नक्कली किसान खडा गरेर अपचलन गरेको पाइएको हो ।

झापाको चकचकी, मदरगाछ, घेराबारी, राजगढलगायतका ठाउँमा करिव डेढ सय विगाह जग्गा खरिद गरी गोल्यान समूहले खेती लगाएको थियो । झापाको बाह्रदशी गाउँपालिका १ मा ३० विगाह क्षेत्रफलमा स्ट्रबेरी लगाएको थियो । जुन एक वर्षभन्दा बढी समय टिकेन । यसैगरी झापा गाउँपालिकाको मदरगाछ भन्ने ठाउँमा ड्रागन फ्रुट लगाइएको छ । बाह्रदशी गाउँपालिकाकै चकचकी भन्ने ठाउँमा ठूलो क्षेत्रफलमा सुपारी लगाइएको छ । त्यस्तै घेराबारीमा पनि यस्तै फलफूल तथा तरकारी लगाइएको थियो । सस्तो जग्गा खरिद गरी व्यावसायिक खेतीको नाममा गोल्यान समूहले करोडौंको सहुलियत ऋण पचाएको बाह्रदशीका एक पूर्व जनप्रतिनिधि बताउँछन् । उनले हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं गोल्यान समूहले झापामा चमत्कारभन्दा ऋण खानकै लागि चर्तिकला देखाएको टिप्पणी गरे ।

कृषिका लागि एउटा फर्मले कम्तीमा पाँच करोडसम्मको सहुलियत कृषि ऋण पाउने गरेको छ । गोल्यान समूहसंग १० वटा फर्म रहेको छ । त्यो हिसाबले गोल्यान समूहले कम्तीमा ५० करोड कृषि ऋण सस्तो व्याजदरमा पाएको गोल्यान समूहमै कार्यरत एक पूर्व कर्मचारीले बताए । उनले कृषि ऋणसंगै गोल्यान समूहले स्ट्रवेरी खेती असिनापानीले क्षति हुँदाको बखत धेरै इन्सुरेन्स दावी गरेको जानकारी दिए । काम गर्ने कामदार र कर्मचारीलाई तलब नदिँदा आफूसहित धेरैजनाले काम छोडेको ती कर्मचारीको भनाई छ । सहुलियतको कृषि ऋणसंगै विभिन्न अनुदानसमेत गोल्यान समूहले लिएको बताइएको छ ।

यसैबीच दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संंस्कृति तथा नागरिक बचाऊँ महाअभियानले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूबाट यसरी १५ खर्व रुपैयाँभन्दा बढी रुपैयाँ अपचलन भइरहेको भन्दै सरकारसँग यस्ता बैंक सञ्चालकहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ । अभियानले एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ नियमहरूको ठाडै उल्लंघन गर्दासमेत राष्ट्र बैंकले किन कारबाही नगरेको भन्दै प्रश्न गरेको छ । सहुलियतपूर्ण कृषि ऋण लिई बैंकका संचालक गोयलले काठमाण्डौंमा होटल बनाएको र वास्तविक कृषकहरुले कृषि ऋण नपाएकोप्रति ध्यानाकर्षण भएको महाअभियानले जनाएको छ ।

हरेक बाणिज्य बैंक वा विकास बैंकहरुले प्रवाह गर्ने कुल ऋणको १५ प्रतिशत रकम कृषि ऋणको रुपमा नितान्त सिमान्तकृत, दुःखी गरिव सर्वहारा वर्गहरुलाई २ प्रतिशत ब्याजदरमा अनिवार्य लगानी गर्नुपर्ने प्रावधान रहेको छ । तर,उक्त प्रावधानलाई छलेर बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृत तथा प्रवन्धकहरुले ५५ जना ब्यापारीहरुलाई नै कृषि ऋणको नाममा लगभग १५ खर्व रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको दावी गर्दै महाअभियानले कृषिको लागि दिइएको सहुलियतपूर्ण ऋणको बिषयमा तत्काल छानबिन गर्न माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्