भद्रपुर , साउन ३ । लम्पी स्किनको महामारीले झापाको भद्रपुर १०मा उग्र रुप लिन थालेको छ ।


बुधवार बिहान भद्रपुर १० स्थित सहिद चोक निवासी डम्बर श्रेष्ठले पालेको गाई लम्पी स्किनले मरेको छ । ज्वरो आउने,जिउभरि घाउ, खटिरा, डाबर आउनेलगायतका लक्षणका कारण श्रेष्ठको गाई मरेको हो । त्यस क्षेत्रका
अन्य किसानहरु कमल अधिकारी,नयाँनाथ पाण्डे ,किशोर कोईराला,सुमित्रा पाण्डेलगायतका थुप्रै कृषकले पालेका पशुहरुमा सोे रोगको लक्षण देखिएको छ।

नगरपालिकाले समयमै औषधिको व्यवस्था नगरेमा अधिकांश कृषकका पशु महामारीको चपेटामा पर्ने स्थानीय समाजसेवी तथा सहिद चोक टोल विकास संस्थाका अध्यक्ष ढाकालाल अधिकारीले बताए ।
उनले महामारी नियन्त्रण गर्न पालिकाहरुले तत्काल भ्याक्सिनको ब्यबस्था गर्नुपर्ने भन्दै महामारी नियन्त्रणका लागि जनचेतना फैलाउनु पर्ने आबश्यकता औल्याए ।

पशु विज्ञान तथा भेटेरिनरी कार्यालय झापाकी प्रमुख शितल भट्टराईले अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारबाट प्राप्त भएको औषधि अत्यन्तै न्यून आएको र उक्त औषधि झापाका १५ वटै स्थानीय तहहरुलाई वितरण गरिसकेको जानकारी दिइन् । उनले चालू आर्थिक बर्षमा भने बजेट तय गरेर नियन्त्रणका लागि विशेष अभियान नै चलाईने बताइन् ।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भेटेरिनरी कार्यालयबाट प्राप्त औषधि पर्याप्त नभएकाले नगरपालिकाले महामारी नियन्त्रणका लागि थप औषधि खरिद गर्ने बताए । उनले पशु चौपाया रहने गोठ र आ–आफ्नो गाईवस्तुलाई सरसफाई राख्न नगरबासीहरुमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्