झापा, साउन ४ । झापाको कनकाईमा पानी बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी अन्दाजी ३० वर्षीय कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-१ स्थित दुर्गापुरमा बिहीबार बिहान ७ः१० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र-१-०१-००१च ७४०७ नम्बरको छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको प्र-१-०१-०१६ प ५०९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी रिजालले बताए। दुवै सवारीसाधनसहित गाडी चालक कनकाई नगरपालिका ४ निवासी ३३ वर्षीय पशुपति ओलीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्