भद्रपुर, साउन ४ । झापामा आर्थिक वर्ष २०७९÷८० मा मानव–हात्ती द्वन्द्वका क्रममा आठ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएका छन् ।


दुई गैरनेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् भने यसैबीचमा दुई वटा हात्ती पनि मरेका छन् । गैरनेपालीमा एक जना भुटानी र एक जना भारतीय रहेको डिभिजन वन कार्यालय झापाको विवरणमा उल्लेख छ ।
हात्तीका कारण ज्यान गुमाउने गैरनेपालीले राहत रकम पाउने व्यवस्था छैन भने नेपाली नागरिकले राहत पाउने गरेका छन् ।

डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी सहायक वन अधिकृत अञ्जना पुरीका अनुसार झापामा हात्तीको आक्रमणबाट अघिल्लो आव २०७८–७९ मा पाँचजना, आव २०७७–७८ मा तीनजना , २०७६–७७ मा दुईजना , आव २०७५–७६ मा एकजना र आव २०७४–७५ मा पाँचजनाको मृत्यु भएको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रमणमा परी ६२ जनाको मृत्यु भइसकेको छ जसमा आठ जना गैरनेपाली रहेका छन् ।
त्यस्तै, सोही अवधिमा १६ वटा हात्ती समेत मरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्ती मरेको छ । मृत्यु हुने मानिसमा अधिकांश किसान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्तीे आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ ।
कार्यालयको विवरण अनुसार बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्न जाँदै गर्दा हात्तीको आक्रमणमा परे । शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ ।
यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईलाई मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठको स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगाननजिकै च्याउ टिप्न जाँदा हात्तीले आक्रमण गरेको थियो । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।
झापामा गत आर्थिक वर्षमा पाँच सय १४ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत उनीहरुलाई एक करोड ११ लाख ३६ हजार सात सय तीन रूपैयाँ राहतस्वरूप वितरण गरिएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी पुरीले जानकारी दिइन् ।
सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षतिवापत ५२ लाख १९ हजार चार सय पचहत्तर रूपैयाँ राहत रकम उपलब्ध गराएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्