झापा, साउन ५ । नेपालीमा एउटा उखान छ– जिउँदाको जन्ती मर्दाको मलामी । असल काममा तल्लिन हुनुको कारण प्रष्ट्याउनु परे भन्ने गरिन्छ, जिउँदाको जन्ती अनि मर्दाको मलामी कमाउने।

ज्ञानुराम प्रसाईको मलामी

जन्ती बोलाउन सजिलो भएपनि मलामी कमाउन गाह्रो छ । धनसम्पत्ति मात्र भएर मलामी कमाउन सकिदैन । जिउँदो हुँदा छरछिमेक र समाजलाई दिएको योगदानका आधारमा मर्दाखेरि उसले मलामी पाउने गर्छ । झापामा केही लोकप्रिय व्यक्तिहरुले राम्रै मलामी कमाएको पाइएको छ ।

धनसम्पत्ति ,शानसौकत ,जातभाई , बन्धुबान्धव र नातागोताको हिसावले धेरै मलामी कमाउने झापाका अरु पनि छन् । तर, चर्चा नै पाउने गरी मलामी कमाउने थोरै मात्र छन् । त्यस्तो पहिलो व्यक्तित्व आदर्शवादी नेता सिके प्रसाई नै हुन् । त्यस्तै झापामै चर्चित मलामी पूर्व सांसद द्रोणाचार्य क्षेत्रीको पनि रहेको थियो । त्यस्तै संविधानसभा सदस्य गौरीशंकर खड्का ,राजनीतिकर्मी ज्ञानुकुमारी प्रसाई ,अर्जुनधारा जलेश्वर धामका पूर्व अध्यक्ष बृजमोहन गट्टानी , समाजसेवी राजकुमार पोखरेलकी आमा कृष्णकुमारी पोखरेल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व उपाध्यक्ष पर्शुराम सिटौला , महेन्द्ररत्न माविका पूर्व प्रधानाध्यापक दाताराम शर्मा ,शनिश्चरे माविका पूर्व प्रधानाध्यापक मोहन जोशी , बिर्ताबजारका पुराना स्वास्थ्यकर्मी डाक्टर सुनार , नेकपा एमाले बिर्तामोडका पूर्व अध्यक्ष ज्ञानुराम प्रसाई ,युवा राजनीतिकर्मी तथा व्यवसायी दीपेन्द्र पोखरेल ,कम्बोडियामा आगलागीमा परी मृत्यु भएका निराकार पाण्डे , नेपाली कांग्रेस झापाका पूर्व सचिव लक्ष्मण खड्काको अन्त्येष्टिमा धेरै मलामीको उपस्थिति रहेको थियो ।

भद्रपुर क्षेत्रमा उद्योगी पर्शुराम अग्रवाल , पूर्व सांसद जीतबहादुर पुरी , उद्योगी मोहनलाल अग्रवाल ,मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख घनश्याम खनाल , दमक क्षेत्रमा पूर्व जनप्रतिनिधिहरु सन्तकुमार वान्तवा , धनबहादुर श्रेष्ठको अन्त्येष्टिमा पनि सयौंको सहभागिता रहेको थियो । त्यस्तै जनआन्दोलनका शहीदहरु राजन गिरी , सुरज विश्वास , लिम्बुवान शहीद राजकुमार आङदम्बेको अन्त्येष्टिमा पनि धेरैजना सहभागी थिए । त्यस्तै राष्ट्रिय सभा सदस्य गोपाल बस्नेतका बुवा टुंगबहादुर बस्नेत , आमा पूर्णमाया बस्नेत, पूर्व जनप्रतिनिधि हर्कलाल गिरीका छोरा केशव गिरी , समाजसेवी तथा व्यवसायी बिनोद बस्नेतका बुवा कृष्णबहादुर बस्नेत ,समाजसेवी पर्शुराम ढकालको मलामी धेरै थिए ।

त्यस्तै कुमरखोदका समाजसेवी डिल्लीराज गणेश , कांग्रेस नेता तुर्सा हेमरम, पूर्व जनप्रतिनिधिहरु हंशनारायण चौधरी ,पुहाँतु चौधरी,गोपालचन्द्रसिंह राजवंशीले पनि त्यसबेला निकै मलामी कमाएका थिए ।

नेपाली समाजमा बहुसंख्यक जातिको धेरै र अल्पसंख्यक जातिको थोरै मलामी हुने गरेको पनि छ । त्यस्तै धनी र सम्पन्न व्यक्तिको मलामी धेरै र गरिव निमुखाको मलामी थोरै भएको पनि पाइएको छ । सबैको सुखदुःखमा साथ दिएर सामाजिक दायित्व निर्वाह गरेको आधारमा मरेपछि मानिसले मलामी पाउने पूर्वजनप्रतिनिधि हर्कलाल गिरी बताउँछन् । उनले शुद्ध र पवित्र मन भएका परोपकारी र उदार व्यक्तिले मात्र धेरै मलामी कमाउन सक्ने धारणा राखेका छन् ।

१ प्रतिक्रिया

  1. रुकमान लावती , बिर्तामोड५ इन्द्रेणीटोल झापा

    पैसा भए पछि मलामी , जन्ती , आसेपासे , धुपौरे , जमानत बसि दिने , इष्टमित्र , कुल कुटम्भ सबै हुन्छन ! पैसा छैन भने कुलले नि पत्याउन्नन !
    हो , जिवित हुँदा उसले गरेको कार्यले नि केही भुमिका खेलेकोहुन्छ !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्