कुमरखोद ,साउन ५ । झापा गाउँपालिकाको चिया बगानमा काम गर्ने मजदुरहरु आफूले श्रम गरेको ज्याला नपाएको भन्दै आन्दोलित भएका छन् ।


झापा गाउँपालिका वडा नं. २ मा रहेको कुवाडी देवी टि स्टेटमा काम गर्ने मजदुरहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रवारदेखि काम ठप्प पारेका छन् । चिया बगानले ४ महिनादेखि काम गरेको रकम नदिँदा घर खर्च चलाउन गाह्रो भएको मजदुरहरुले बताएका छन् । जबसम्म चिया बगानले हामी मजदुरहरुको काम गरेको रकम सबै भुक्तानी दिदैन, तबसम्म चिया बगानमा काम नगर्ने अखिल नेपाल चिया मजदुर संघ कुवाडी देवी टि स्टेट एकाई समितिकी अध्यक्ष सीता माझीले बताईन् । आफूहरुलाई चिया बगानले ज्याला भुक्तानी गर्न पटकपटक झुक्याउने गरेकोले अव कुवाडी देवी टि.स्टेटको मुख्य कार्यालय रहेको भद्रपुरमा आईतवार गएर घेराउ गर्ने माझीले बताईन् ।

त्यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ झापाका अध्यक्ष जगन्नाथ पौडलले तत्कालै मजदुरहरुको सम्पूर्ण रकमहरु भुक्तानी गर्न चेतावनी दिएका छन् । मजदुरहरुको रकम भुक्तानी गर्न आनाकानी गरे चिया वगानको कार्यालयमा ताला लगाई चरणवद्ध आन्दोलन गर्नेसमेत उनले चेतावनी दिए ।

कुवाडी देवी टि स्टेटका मेनेजर रामजतन सिंहले भद्रपुरबाट रकम नपठाएकोले मजदुरीहरुलाई रकम भुक्तानी गर्न नसकेको स्वीकार गरेका छन् । उक्त चिया वगानमा १३० जना मजदुरहरुले काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्