दमक, साउन ६ । वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले विरामीलाई फलफूल वितरण गरेको छ ।


शनिबार सो संगठनले दमक अस्पतालमा उपचाररत २५ जना बिरामीलाई अस्पतालको बेडमै पुगेर फलफूल वितरण गरेको हो । प्रेस युनियनका केन्द्रीय प्रतिनिधि बिष्णु सुब्बाले फलफूल वितरणको औपचारिक शुभारम्भ गरेको आयोजक समितिका सचिव सन्तोष विष्टले जानकारी दिए ।

युनियनका जिल्ला सभापति गिरिराज भट्टराई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्वय अइन्द्रविक्रम केरुङ, सत्यनारायण चौधरी, कांग्रेस दमक ५ का सभापति चैतन्य बराल, वडा नं १ वडा सचिव यज्ञ भट्टराई, क्षेत्रीय प्रतिनिधि जितबहादुर धिमाल, युनियनका जिल्ला सदस्य युवराज रेग्मी, शान्ति सुब्बालगायतले फलफूल वितरण गरेका थिए । सो अवसरमा प्रेस युनियनका अग्रजहरुले नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री वीपी कोइरालाको विचार सँधैं गरिब दुःखीहरुको सेवा गर्नु भन्ने भएकाले सेवामूलक कार्यक्रम गरिएको बताएका थिए ।

फलफूल हस्तान्तरणमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह, अस्पतालका कर्मचारी श्याम राजवंशी,स्वास्थ्यकर्मी, नगर प्रहरीलगायतले सहजीकरण गरेका थिए । पत्रकारहरुको पेशागत जिम्मेवारीमात्रै नभएर सामाजिक उत्तरदायित्व समेत हुने भएकाले संगठनले यस किसिमका सेवामुलक कार्यक्रमहरु समय समयमा गर्दै आएको युनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्