झापा, साउन ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो । सख्त घाइते भएका एक जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै एकै गाउँका भएको बताइएको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी सख्त घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पिकअप चालक भारत दार्जिलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्