दमक, साउन ६ । दमक नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।
नगरपालिकाको हालै सम्पन्न १३ औं नगरसभाले घरपालुवा कुकुरपालनलाई थप व्यवस्थित गर्न अनिवार्य रुपमा कुकुर सूचीकृत गर्ने निर्णय गरेको नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिइन् । उनका अनुसार अव कार्यविधि बनाएर कुकुर दर्तासम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क संकलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिने कार्यमा सहज हुने नगर उपप्रमुख भट्टराईले बताइन् ।

नगरपालिकाले पशु सेवा शाखाको समन्वयमा दमकका १० वटै वडामा घरपालुवा कुकुरको दर्ता गर्ने व्यवस्था गर्ने पशु सेवाका शाखाका अधिकृत गणेशबहादुर प्रधानले बताए ।
उनले घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि तयार गरी यस कार्यक्रमलाई कार्यान्वयन गरिने बताए । यस कार्यक्रमले कुकुरपालन थप व्यवस्थित हुने उनको भनाई छ ।
उनका अनुसार घरपालुवा कुकुर सूचीकृत गरिएसंगै कुकुरको संख्या, जात, रेविज खोप, औषधी र कुकुर मरे त्यसको व्यवस्थापन गर्न सघाउ पुग्ने छ ।

दमकमा ठुलो संख्यामा घरपालुवा कुकुर पालिदै आएको अनुमान छ । त्यस्तै, सामुदायिक कुकुरको झनै समस्या रहँदै आएको छ । झापाको १५ वटा स्थानीय तहमध्ये दमकले पहिलोपटक घरपालुवा कुकुर सूचीकृत गर्ने कार्य अघि बढाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्