झापा,साउन ८ । भ्रष्टाचार मुद्दामा मुछिएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडा निलम्बित भएका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको बेला विद्युत् आयोजनामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेपछि गृह मन्त्रालयले खतिवडालाई सीडीओबाट निलम्बन गरेको हो ।

आर्थिक वर्ष २०७५÷७६ मा विद्युतीकरणका लागि आवश्यक सामग्री खरिदका क्रममा मिलेमतो गरी नक्क्ली बिल तथा कागजात बनाएर भ्रष्टाचार गरेको भन्दै खतिवडालगायत १० जना विरुद्ध अख्तियार आयोगले आइतबार आरोपपत्र दर्ता गराएको थियो । त्यसैको आधारमा आइतबारै निलम्बित गरेको प्रजिअ खतिवडाले बताए । ‘पहिला म त्यहाँ हुँदा अरुले गाजाङगुजुङ गरेछन्, मैले त होइन,’ खतिवडाले भने, ‘त्यस्तो भएपछि त निलम्बन गरिहाल्छ नि !’

विद्युत्को पोल, तार, ट्रान्समिटर खरिद योजनामा मिलेमतो गरेको भन्दै अख्तियारले खतिवडा, नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण नगरपालिका–१० का वडाध्यक्ष दामोदर धमला, खानेपानी तथा सरसफाई प्राविधिक दिलकुमार बुढाथोकीलगायत विरुद्ध गैरकानुनी लाभ तथा हानीपु¥याई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दर्ता भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्