झापा, साउन ८ । अमेरिकास्थित वेस्टर्न मिचिगन युनिभर्सिटीका प्राध्यापक डा. महेन्द्र लावतीले नक्कली संघीयताले नेपाललाई दुर्घटनातिर लाँदै गरेको चेतावनी दिएका छन् ।

नक्कली संघीयताले देश समृद्ध बन्न नसक्ने उनले दावी गरेका छन् । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको पहिचान , संघीयता र समृद्धि विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख वक्ता प्रा.डा. लावतीले नेपालमा साँच्चैको संघीयता ल्याउन जरुरी भएको बताए । ७ वटा प्रान्तको सिमाना कोरिदिएको केन्द्र शासित अधिकारविहीन प्रदेश सरकारको औचित्य नेपालमा नदेखिएको उनले टिप्पणी गरे ।

‘नक्कली संघीयता भएका देश विश्वमा अरु पनि थिए’ उनले भने,‘ नक्कली संघीयता भएका देशहरु युगोस्लाभिया ,चेकोस्लाभिया , पुरानो पाकिस्तानजस्ता देशहरु टुक्रिए ।’ फेरि एकात्मक व्यवस्था ल्याउन खोज्नेहरुले संघीयता हटाउनु पर्छ खर्चिलो भयो भनेर भ्रम सिर्जना गरिरहेको बताउँदै प्रा.डा.लावतीले दुई सय वर्षभन्दा बढी अवधि एकात्मक व्यवस्था रहेको नेपालमा समृद्ध हुने भए उहिले नै हुन्थ्यो भनेर जिकिर गरे । बहुजाति, बहुभाषी मुलुकमा एकात्मक शासन व्यवस्था फेल भइसकेको , त्यसले द्वन्द्व मात्र निम्त्याउने , देशलाई गरिब बनाउने उनको भनाई छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति तथा आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव सेसेहाङ फियाक , संघर्ष समितिका सन्जुहाङ पालुङ्वा ,आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्षहरु भरतकुमार श्रेष्ठ , प्रेम घिसिङ, नागरिक उन्मुक्ति पार्टीका त्रिनारायण राजवंशी, राष्ट्रिय महिला महासंघकी सनम राजवंशीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आदिवासी जनजाति महासंघ झापाका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्