झापा, साउन ९ । देशभरका भन्सारले झैं मेची भन्सारले पनि सय रुपैयाँभन्दा माथिका सामान आयातमा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू गरेपछि पूर्वी नाका तनावग्रस्त बनेको छ ।


सरकारले साउन १ गतेदेखि देशभरका सीमावर्ती नाकामा कडाइ गर्दै सय रुपैयाँमाथिको सामान खरिद गरी आयात गर्दा भन्सार महसुल अनिवार्य तिर्नुपर्ने नियम लागू गरेको थियो ।
देशका अन्य नाकामा भन्दा ढिलो नियम लागू भएको यो व्यस्त नाका मंगलबार तनावग्रस्त बनेको छ । स्थानीय साना व्यवसायीहरुले मंगलबार दिउँसो विरोध गर्दा नाका तनावग्रस्त बनेको हो । जसकारण सवारी आवागमन पनि ठप्प भएको छ । यातायात खुलाउन नाका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । साना व्यवसायीहरुले सडकमा नारावाजी गरेका थिए ।
स्थानीयहरुले भने भारतबाट रासन पानी किनमेल गरेर आउँदा महसुल तिर्न लगाइनु व्यवहारिक नभएको भन्दै आक्रोश पोखेका थिए ।

सय रुपैयाँमाथिको सामानको भन्सार महसुल तिर्ने कुराले साना व्यवसायीहरु सबभन्दा बढी मारमा पर्ने भन्दै उनीहरु आन्दोलित बनेका हुन् । सरकारको निर्णयले ठूला व्यापारीलाई पोस्ने र साना व्यवसायीहरुलाई मार्ने काम गरेको दाबी गरेका छन् ।
मेचीनगर नगरपालिका, मेची भन्सार, मेची उद्योग वाणिज्य संघ , सांसद तथा विभिन्न राजनीतिक दलका नेताहरुले साउन ५ गते सर्वदलीय र सर्वपक्षीय निर्णय गरी सय रुपैयाँभन्दा माथिका सामान भारतबाट खरिद गरी ल्याउँदा अनिवार्य रुपमा भन्सार महसुल तिर्नुपर्ने निर्णय गरेका थिए ।

मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले सय रुपैयाँमाथिको सामान खरिद गरी ल्याउनेलाई अनिवार्य महसुल तिराउने नियमपछि मेची भन्सारमा साना तथा ठूला व्यवसायी र स्थानीयको भीड बढेको बताए ।भारतबाट किनमेल गरेर आउनेहरु अहिले भन्सारमा महसुल तिरेर मात्रै प्रवेश गर्न थाल्नु सकारात्मक भएको रेग्मीले दावी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्