झापा, साउन ११ । धरानमा जेठ महिनादेखि फैलिएको डेंगी रोगको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।


डेंगीकै कारण धरानका ७ जनाको मृत्यु भएकामा ६ जना दिर्घरोगी रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताले बुधवार जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार जेठ २३ गते धरान–१७ घर भएकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो भने असार १५ गते धरान–११ घर भएकी ४० वर्षकी महिलाको मृत्यु भएको थियो । साउन २ गते धरान–११ घर भएका ७९ वर्षका वृद्ध र सोही दिन धरान–१८ घर भएका ८४ वर्षीय वृद्धको मृत्यु भएको थियो भने साउन ३ गते धरान–५ घर भएकी ५३ वर्षीया विष्णुमाया कालिकोटेको डेंगीको कारण मृत्यु भएको थियो ।
साउन ७ गते धरान–१० का ५६ वर्षका पुरुषको मृत्यु भएको छ । डेंगीका कारण ४ महिला र ३ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भईसकेको स्वास्थ्य शाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिकाको तथ्यांक अनुसार ३ हजार ५ सय ३२ जना डेंगी परीक्षण गर्न गएकामध्ये २ हजार ६६ जनामा संक्रमण देखिएको छ । यो कुल संख्यामध्ये ५८ प्रतिशत रहेको छ । घरैपिच्छे डेंगी संक्रमणका कारण घरका सम्पूर्ण सदस्य बिरामी परेका छन् । दिनमा २ सयभन्दा बढी डेंगी संक्रमण भएको तथ्यांकले देखाएको छ । स्वास्थ्य संस्थामा जाँच नगर्नेको संख्या यकिन भन्न सकिने अवस्था छैन । एक घरमा दुई जना डेंगीका बिरामी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्