झापा , साउन ११ । लगातार अमर्यादित गतिविधि भइरहेपछि झापाका सहकारी संस्थाहरुले फेरि पनि शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनसंग आग्रह गरेका छन् ।

यसअघि जिल्लाका सहकारी संस्थाहरुले गत जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्ता किसिमका गतिविधि नरोकिएको भन्दै सो कार्यमा प्रत्यक्ष– अप्रत्यक्ष रुपमा संलग्न जो कोहि व्यक्ति तथा समूह भएपनि प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित सरोकारवाला निकायसंग झापा जिल्ला सहकारी संघले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डित गर्न आग्रह गरेका छन् । उनीहरुले केही व्यक्ति तथा समूहले अभियानको नाममा र राजनीतिक दलको समेत नामबाट सहकारी संस्थामा निरन्तर गलत क्रियाकलाप गरिरहेकाले सम्बन्धित राजनीतिक दल र संस्थालाई अविलम्ब त्यस्तो कार्य सच्याउन तथा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न अनुरोध गरेका छन् अन्यथा कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईने समेत विज्ञप्तिमा उल्लेख छ ।

झापालगायत देशका विभिन्न स्थानमा समूह तयार गरी सहकारी संस्थाहरुमा होहल्ला गरी सार्वजनिक हुलहुज्जत गर्ने पाइएको छ । विभिन्न सहकारी संस्थाहरुमा नेकपा माओवादी विप्लव समूहको नाममा संस्थाको सेवाकेन्द्रहरुमा गई कर्मचारीहरुलाई विभिन्न धाक धम्की दिने, संस्थामा तालावन्दी गर्ने साथै कर्मचारीहरुलाई मानसिक तनाव दिने लगायतका अमर्यादित गतिविधि भइरहेको सहकारी संस्थाहरुले जनाएका छन् ।

हिजो मात्र लक्की राजवंशीले ऋण किन चाँडै तिरेको भन्दै सहारा नेपाल साकोसले आफूलाई धनीपुर्जा नदिएको एक युट्युव च्यानलमार्फत बताएकी थिइन् । दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संंस्कृति तथा नागरिक बचाऊँ महाअभियानले उचालेर सहारा नेपालको बद्नाम गराएको भन्दै राजवंशीको आरोप झुटो भएको सहारा नेपाल साकोसले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्