झापा , साउन ११ । आज बिहान जंगली हात्तीले भद्रपुर ४ मा तीनवटा घर भत्काएर क्षति पुर्याएको छ ।

बिहान २ बजे आएका जंगली हात्तीले भद्रपुर ४ साम्पाङ चोक बस्ने माया राईको घरको बरण्डा, झ्याल र टिनको छानो भत्काई घरमा रहेको अन्नपात, भाडावर्तन नष्ट गरी अन्दाजी २७ हजार मूल्य बराबरको क्षति गरेको छ । त्यस्तै सोही ठाउँ बस्ने अमर आङदेम्वेको भान्सा कोठा भत्काई भान्सा कोठामा रहेको अन्नपात, भाडावर्तन २५ हजार बराबरको क्षति गरेको छ भने धनबहादुर राईको भान्सा कोठा भत्काई भान्सा कोठामा रहेको अन्नपात, भाडावर्तन नष्ट गरी २१ हजारबराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

दुईवटा जंगली हात्ती आई घर र भान्साकोठा भत्काई क्षति पुर्याएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी महेशपुरबाट टोली खटीगएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्