झापा , साउन १२ । सर्वोच्चको फैसलापछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालयले बेवास्ता गरेको छ ।

काठमाडौँमा रहेका कार्की आज बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए तर, उनी विमानस्थलमा ओलिँदा न उनलाई स्वागत गर्न कर्मचारीहरू पुगेका थिए, न त उनले दाबी गरेजस्तो मुख्यमन्त्रीको हैसियत प्रदान गर्ने सुरक्षाकर्मी र सवारीसाधन नै थियो । सर्वोच्चको फैसलाले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ । तर, यो अवधिमा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने आदेशमा स्पष्ट नभएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि अन्योलमा छन् ।

महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले उद्धव थापा नै कामचलाउ मुख्यमन्त्री रहने बताइरहेको बेला कार्की र उनको पक्षमा सर्वोच्चमा बहस गरेका वकिलहरूले भने कार्की नै मुख्यमन्त्री हुने दाबी गरिरहेका छन् । तर, मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई अहिलेसम्म मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ । कार्कीलाई मुख्यमन्त्रीको रूपमा स्वीकार गरेको अवस्थामा मुख्यमन्त्री कार्यालयले झण्डावाल गाडी र तोकिएका सुरक्षाकर्मीसहित स्वागतको लागि विमानस्थल पुग्नुपर्ने थियो । तर, मुख्यमन्त्री कार्यालयले कुनै वास्ता नगरेकोले कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को १ झ ६५२ नम्बरको स्कोरपियोमा विमानस्थलबाट निस्किए । मुख्यमन्त्री कार्यालय जाने बताउँदै आएका उनी विमानस्थलबाट आफ्नै निजी निवासतिर लागेका छन् । यस्तै आफूसहित आफ्नो क्याबिनेटमा रहेका तत्कालीन मन्त्री बुद्धिकुमार राजभण्डारी पनि आफ्नै डेरातिर लागेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्