एजेन्सी । ओस्कार विजेता चलचित्र ‘आरआरआर’ को दोस्रो संस्करणको स्क्रिप्टमाथि काम सुरु भएको छ ।

यसको कथा अफ्रिकामा आधारित हुन सक्ने बताइएको छ । यसको जानकारी चलचित्रका लेखक तथा निर्देशक एसएस राजामौलीका पिता विजयेन्द्र प्रसादले दिएका हुन् । आफूले चलचित्रको स्क्रिप्ट लेखिरहेको र त्यो पुरा गरेपछि राजामौलीसँग साझा गर्ने उनको भनाई छ । सबै कुरा भनेअनुसार अघि बढे सन् २०२५ मा चलचित्रको प्रि-प्रोडक्सन सुरु हुनेछ । अहिले राजामौली महेश बाबूसँग ‘एसएसएमबी २९’ चलचित्रमा जुटेका छन् । बलिउड हङ्गामासँग कुराकानी गर्दै विजयेन्द्रले भने, ‘यसको दोस्रो संस्करण बन्न पनि सक्छ, न बन्न पनि सक्छ । २०२२ मा चलचित्र रिलिज भएपछि मैले यसको सिक्वेलको योजना छोरासँग साझा गरेको थिएँ । चलचित्रको कथा अफ्रिकामा आधारित रहेको छ । यो सीता राम राजू (रामचरण) र कोमाराम भीम (एनटीआर जूनियर) सँग पहिलो संस्करणको अन्त्य भएको ठाउँबाट सुरु हुनेछ ।’ राजामौलीलाई पनि यो योजना मन परेको र उनले यसको स्क्रिप्टमा काम गर्न भनेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्