झापा, साउन १२ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ ।

डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । तीमध्ये उदयपुरको कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रियापछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो । यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो ।

प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म ५४ जना उपचारका लागि भर्ना भएका थिए । तीमध्ये ३७ जनालाई डिस्चार्ज दिइएको सहप्रवक्ता डा. पोखरेलले बताए । उनका अनुसार डेंगी संक्रमण भएर उपचारका लागि आउने बिरामी डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा चाप दिनदिनै बढेको छ । डेंगी क्लिनिकमा हालसम्म १ हजार ६ सय १६ जनाको जाँच गर्दा १ हजार २ सय ९८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार मात्र १ सय ४९ जनाको जाँच गर्दा १ सय १७ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । १ सय १७ जना संक्रमितमध्ये प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारी १५ जना अर्थात् करिब १० प्रतिशतमा डेगी पोजिटिभ देखिएको डा. पोखरेलले बताए ।

स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कार्यालय, टोल समिति (टिएलओ) सामाजिक संघसंस्थाहरु सर्च एन्ड डेस्ट्रोय अभियान नचलाई निष्क्रिय रहँदा डेंगी संक्रमणपछि दीर्घ रोगी र बालबालिकाको ज्यान जोखिममा परेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्