दमक, साउन १२ । विश्व बैंकको सहयोगमा दमक नगरकै नमुना बन्न लागेको मदनडाँगी– ताराबारी डिपु सडकको आज शिलान्यास भएको छ ।

दमक वडा ५ र १ को सीमा क्षेत्र स्वर्गीय धनबहादुर श्रेष्ठको घरदेखि वडा नम्बर ४ को ताराबारी डिपुसम्म निर्माण हुने चार लेन सडकको नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरे ।
सडकको शिलान्यास गर्दै नगरप्रमुख थापाले अब निर्माणको काम तत्काल सुरु गरी तोकिएको समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । उपप्रमुख भट्टराईले सडक निर्माणमा कुनै समस्या नआओस् भनेर यसअघि नै सडकको रेखांकन गरिसकिएको बताइन् ।

१५ मिटर चौडाई भएको पाँच किलोमिटर सडक निर्माणका लागि ४४ करोड २४ लाख १५ हजार ५ सय २७ रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका ईन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको र उक्त सडकमा पैदल लेनसहित साईकल लेन समेत हुने उनले बताए । कन्काई इन्टरनेशनल विल्डर्स प्रा.लि.ले ठेक्का लिएको सो सडक २०८२ असार ११ सम्ममा सक्नु पर्ने संझौता रहेको ईन्जिनियर सेनेहाङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्