भद्रपुर, साउन १३ । आम उपभोक्ताको हितलाई मध्यनजर गरी भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ ।

आर्थिक वर्ष ०८०÷०८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ ।
नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुसमेतको टोलीले तीन दिनसम्म गरेको बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।
अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका नारायणप्रसाद भट्टराई, गुणस्तर तथा नापतौल कार्यालय झापाका विजयनन्द चौधरी, कासिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बू, नगरपालिकाको कानून शाखा प्रमुख राजेन्द्रप्रसाद ढकाल, सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । समय मिलाएर नगरप्रमुख गणेश पोखरेल पनि अनुगमनमा सहभागी भएका थिए ।
टोलीले बुधबार र बिहीबार वडा नं १ र २ को हिमाली, सोमबारे, सीताचोक, चारआली, सगरमाथा चोकका खाद्य तथा कस्मेटिक पसल, होटलहरुमा अनुगमन गरेको थियो भने शुक्रबार भद्रपुर ५ र ६ का पसलहरुमा अनुगमन गरेको थियो ।
राजश्व शाखा प्रमुख कर्णका अनुसार टोलीले भद्रपुर–१ को आशा किराना पसल, हर्कबहादुर राईको पसल, शर्मिला चिया पसल, विकास राइस मिल, सुष्मा कोल्ड स्टोर, गणेश भेट्स सेन्टर, प्राश्ना भेराइटिज, निर्मल किराना पसल, खरेल स्टेशनरी, बान्तवा राईको पसल, कृष्ण किराना पसल, उर्मिला किराना पसल, आचार्य खाद्य पसल, देव गंगा कोल्ड सेन्टरको अनुगमन गरेको थियो भने वडा नं २ मा दाहाल भेराइटिज स्टोर, उज्वल किराना पसल, सगरमाथा स्टेशनरी, सगरमाथा भेराइटी स्टोर, शंकर इलेक्ट्रिकल्स, सृजना कोल्ड सेन्टर, ए एण्ड बी होटल, अनिता कोल्ड स्टोर, आवाज किराना पसल, कञ्चनजंघा भेराइटी स्टोर, पाँचथर ज्वेलर्स, पार्वती कस्मेटिक्स, चन्द्र स्टोर्स, पुनम मेडिकल स्टोर, हाम्रो पृथ्वीनगर फ्रेस हाउस, बीग बी मार्ट, सोमबारे खाजा पसल, कार्कीज केक, तेजनाथ सप्लायर्स, नविन किराना पसल, कौशिल्या किराना पसल, ओम गणेश भण्डार, सारिका होटल, भद्रपुर ४ को गंगा भण्डार र राजेन्द्र स्टोर, भद्रपुर ५ को पञ्चकन्या आयल ट्रेडर्स र अन्नपूर्ण भण्डार तथा भद्रपुर ६ को तिम्सिना स्टोर्स, शाह स्टोर्स, लक्ष्मी भण्डार, लक्ष्मी स्टोर, सोहन स्टोर्स, विक्की स्टोर्स ,ओम जगदीश हरे किराना पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले अधिकांश पसलमा म्याद गुज्रिएका विभिन्न किसिमका खाद्य सामग्री, तेल र अखाद्य मिसावट गरिएका चुक अमिलो, भुटेको केराउ, दाललगायतका सामग्री फेला पारी सामान जफत गरेको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रतिनिधि नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
सोक्रममा केही पसलले नगरपालिकाको इजाजत नलिएको, केहीले नवीकरण नगरेको, ढक–तराजु (डिजिटल काँटा) इजाजत निलिई प्रयोग गरेको गरेको पाइएकोले तिनीहरुलाई समय दिएर इजाजत लिन र नवीकरण गर्न निर्देशन दिइएको नगरपालिकाको कानून शाखा प्रमुख ढकालले जानकारी दिए ।

जफत गरिएको सामग्री अनुगमनमा सहभागीहरुको रोहबरमा मेची किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको अनुगमन टोली संयोजक उपप्रमुख कार्कीले जानकारी दिइन् ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीको सन्दर्भमा बजारमा धेरै कैफियत देखिएकोले अनुगमनलाई अझ तीव्रताका साथ अघि बढाइने र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायीमाथि कारवाही प्रक्रिया अवलम्बन गरिने पनि उपप्रमुख कार्कीले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्