झापा , साउन १३ । झापामा यो वर्ष चार लाख बिरुवा वितरण गरिने भएको छ ।

जिल्लामा विभिन्न बहुमूल्य वनस्पति, फलफूल, वनजन्य लगायत चार लाख बिरुवा वितरण भइरहेको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन । कार्यालयले असार दोस्रो सातादेखि जिल्लाका विभिन्न स्थानबाट बिरुवा वितरण थालेको हो । डिभिजन वन कार्यालय अन्तरगतका सात वटा नर्सरीबाट बहुवर्षे बिरुवा एक लाख २५ हजार थान, एक वर्षे बिरुवा दुई लाख १० हजार थान, लाहा खेती विस्तारका लागि ५० हजार थान, वनजन्य फलफूलका बिरुवा आठ हजार पाँच सय उत्पादन भएका छन् भने विभिन्न निजी नर्सरीबाट छ हजार पाँच सय फलफूलका बिरुवा खरिद गरिएका उनले बताइन्। कार्यालयले उत्पादन गरेको बहुवर्षे बिरुवाको प्रतिगोटा लागत रु २० रहेको छ भने एक वर्षे बिरुवाको लागत रु ११ रुपैयाँ रहेको छ । त्यस्तै, फलफूलका बिरुवा प्रतिगोटा करिब रु एक सयको हाराहारीमा रहेको छ ।

कार्यालयले बहुमूल्य प्रजातिका अगरउड, श्रीखण्ड, सतिसाल, रुद्राक्ष र बिजयसालको बिरुवा समेत उत्पादन गरेर वितरण गर्दै आएको सूचना अधिकारी पुरीले बताइन । कार्यालयले वनजन्य फलफूल कुसुम, जामुन, तिउरी, अमला लगायतका बिरुवा वितरण गरिरहेको छ भने आँप, लिची र कागतीको गुणस्तरीय फलफूलका बिरुवा समेत वितरण गरिरहेको छ । सौन्दर्य प्रदायक वनस्पति कल्की फूल, गुमोहर, सिरिस लगायतका रुखका बिरुवासँगै टिक, मसला, मलेसियन साल, धुपी, खमारी, निमारो, कदम, चाप, गोल्डमोहा, बकाइनो लगायतका वनजन्य बिरुवा वितरण भइरहेको कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले बताए । कार्यालय गत वर्ष पाँच लाख थान बिरुवा वितरण गरेको थियो । बर्सादको समयमा बिरुवा हुर्कन सहज हुने भएकाले यो समयमा धेरै बिरुवा वितरण हुने गरेको छ । कार्यालयले सुख्खा मौसमबाहेक मागका आधारमा वर्षभरि बिरुवा वितरण गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्