झापा, साउन १६ । कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा उनले राजीनामा दिन सहमत भएका हुन् ।
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताएका छन् । गौतमले राजीनामा दिएपछि गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने गठबन्धन दलका प्रदेश सांसदको भनाइ छ ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने निणर्यमा पुग्न बाध्य भएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएको माओवादीका प्रदेश सांसदको भनाइ छ । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने नजाने अहिले नै भने निणर्य भइनसकेको उनको भनाइ थियो ।
सभामुख गौतमले राजीनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत पाउन कठिन छ । मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्छ । राप्रपाले समर्थन नगरेसम्म गठबन्धन दलबाट नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अहिले गठबन्धन दललाई सरकार निर्माणका लागि समर्थन नगर्ने अडानमा रहेका राप्रपाले विश्वासको मत नदिए ३० दिने सरकार मात्रै हुने र त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको हो ।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङ्ले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निणर्य बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङ्ले सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्