बिर्तामोड, साउन १७ । बिर्तामोड नगरपालिकालाई तीन बुँदे मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने अनेरास्ववियु झापाको कार्यक्रमअन्तर्गत बुधवार बिर्तामोड नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोशन लामाको नेतृत्वमा विद्यार्थीहरूले बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ध्यानाकर्षण गराएका हुन् । अनेरास्ववियुको तीन बुँदे मागमा नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउनुपर्ने भनी मौलिक हकको रुपमा दर्ज भएको तर विद्यालयहरूले मनोमानी ढंगबाट चर्को शुल्क लिने गरेको पाइएकाले संविधानको उक्त मौलिक हकलाई तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।

निजी शैक्षिक संस्था सञ्चालन ऐन अनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरि भर्ना गराउनु पर्नेमा सो प्रकारको छात्रवृत्ति वितरण गरेको नपाइएकाले उक्त ऐनको नियमन गर्नपर्ने साथै छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी बनाउन अनिवार्य सूचना पाटीमा प्रकाशन गर्नुपर्नेमा कागजी रुपमा मात्र छात्रवृत्ति वितरण गरेको पाइएकाले उक्त वितरण प्रकृयालाई नियमन गर्दै पारदर्शी बनाउनु पर्ने माग गरिएको छ ।

विभिन्न विद्यालयहरूमा भिन्न भाषाको माध्यमबाट शिक्षा दिने नाममा अधिक शुल्क लिने र एउटै विद्यालयमा विद्यार्थीलाई दुई वर्गमा विभाजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै विद्यार्थीहरूलाई समान, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेलगायतका मागहरू रहेका छन् । ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियु झापाका अध्यक्ष बलराम गिरीले संविधानले प्रदान गरेको हक अधिकार कुनै पनि हालतमा विद्यार्थीहरूलाई उपलब्ध गराउने दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्