झापा, साउन १७ । मानव अधिकार संजाल झापाले मानव अधिकार रक्षक तथा पत्रकार मनोहरकुमार पोखरेलमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेको छ ।
संजालले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र मानव अधिकार रक्षक र पत्रकार पोखरेलमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरीउपर कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिबद्धता कायम गर्न सरकारसमक्ष माग गरेको हो । संजालका अध्यक्ष डा.रुपक खनाल
र सचिव दीपक दासले जारी गरेको विज्ञप्तिमा मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका मानव अधिकार रक्षक परिषदका सदस्य तथा इन्सेक सप्तरीका जिल्ला प्रतिनिधि पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार समेत रहेका पोखरेलमाथि हातपात गर्ने असई महतो निलम्बित भएका छन् । समाचार संकलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले दुर्ब्यवहार गर्दै कुटपिट गरेका थिए ।
महतोलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालयले मधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको थियोे ।मंगलबारदेखि नै लागू हुने गरि उनलाई निलम्बन गरिएको सप्तरी प्रहरीका प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।