बिर्तामोड , साउन १९ । करबृद्धिको विरोधमा उत्रिएका राजनीतिक दलहरुले बिर्तामोड नगरपालिकाले बृद्धि गरेको एकीकृत सम्पत्ति करको बिषयमा अध्ययन गर्न समिति बनाएका छन् ।

नेकपा एमालेबाहेकका दलहरुको शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले नगरपालिकाले के कति करबृद्धि गरेको छ भनेर अध्ययन गर्न इन्जिनियर रोशन सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । जसको सदस्यहरुमा जेबी जवेगु , प्रकाश सिटौला , कृष्ण पौडेल र अर्जुन उप्रेती रहेका छन् ।

करको विषयमा ज्ञान भएका व्यक्तिहरुको अध्ययन समिति निर्माण गरिएको राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । त्यस समितिले अध्ययन गरिसकेपछि बिर्तामोड नगरपालिकासंग करबृद्धिलाई निश्चित समयसीमाभित्र समायोजन गर्न माग गरिने बताउँदै प्याकुरेलले यदि नगरपालिकाले बेवास्ता गरे सर्बदलीय रुपमा संघर्ष गर्ने निर्णयसमेत गरिएको जानकारी दिइन् ।

यसअघि गत सोमवार बिर्तामोड नगरपालिकाले अत्यधिक करबृद्धि गरेको भन्दै नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , राप्रपा , एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएका थिए । शुक्रवारको बैठकमा नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश क सभापति लक्ष्मीप्रसाद आचार्य , कांग्रेसका बिर्तामोड नगर सभापति भोजराज सिटौला , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा , राप्रपाका क्षेत्र नं २ प्रदेश क अध्यक्ष शंकर रिजाल , जिल्ला सदस्य लक्ष्मी ढकाल , बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेल , एकीकृत समाजवादीका बिर्तामोड अध्यक्ष श्रीप्रसाद सिटौला ,कमल कडरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका अर्जुन उप्रेती, कमल उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्