झापा , साउन १९ । भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी एकै परिवारका पाँचसहित दर्जन नेपाली बेपत्ता भएका छन् ।

पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।

‘केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो,’ पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ । नाम ठेगाना यकिन भइसकेको छैन । सबै विवरण प्राप्त भए पनि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।’ उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए ।बेपत्ता हुने नेपालीहरुमा अमर बोहोराको परिवार रहेको छ । अमर बोहोरा , उनकी श्रीमती अनिता बोहोरा ,छोरीहरु राधिका बोहोरा, पिंकी बोहोरा ,छोरा पृथ्वी बोहोरा बेपत्ता भएका हुन् । त्यस्तै २६ वर्षिय विनोद , २५ वर्षिया मुलायम , २३ वर्षिया अंशु ,१८ वर्षिय प्रियांशु चावला ,२८ वर्षिय रन्वीर सिंह बेपत्ता भएको भारतीय अधिकारीले जनाएका छन्

अहिलेसम्म पातरासी–२ र ३ का गरी ११ जनाको पहिचान भएको उपाध्यक्ष जुनमाया रोकायाले बताइन् । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष, उपाध्यक्षबाटै आफूलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी पठाइसकेको बताए ।

भारतीय सञ्चारमाध्यमले सो घटनामा ४ जनाको शव बरामद भएको र बाँकी १५ जना बेपत्ता रहेको जनाएको छ । उक्त अनलाइनले स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ । सो अनलाइनले बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्