एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ( पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन् ।

खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ ।
पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत जेल लगिएको जानकारी ट्विटरमा लेखेको छ ।
इस्लामावाद जिल्ला अदालतले शनिबार सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएको थियो ।

यो सजायसँगै इमरान खान पाँच वर्ष चुनाव लड्न अयोग्य हुने पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले बताएको समाचारमा उल्लेख छ ।मुद्दाको सुनुवाइका क्रममा इमरान खान र उनका वकिल इजलास समक्ष अनुपस्थित रहेका थिए । इमरान खानको पार्टीले भने अदालतबाट पक्षपाती फैसला भएको भन्दै आपत्ति जनाएको छ ।
खानलाई गत वैशाखमा पनि पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्