झापा, साउन २० । हल्दिवारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै विरोधमा उत्रिएका राजनीतिक दलहरुले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।

भू–उपयोग तथा जग्गा वर्गीकरण नीतिविरुद्ध संयुक्त संघर्ष समितिको आज हल्दिबारी रेडक्रस भवनमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।हल्दिवारी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेकपा एमाले हल्दिबारीका इन्चार्ज नरेश चुडालले जानकारी दिए ।

समितिले संघर्षका कार्यक्रमलाई सशक्त बनाएर अगाडि बढाउने निर्णय गरेको छ । साउन २१ र २२ गते ५ वटै वडाहरुमा संघर्ष समिति निर्माण गर्ने साथै वडावासीहरुलाई जग्गा वर्गीकरणको त्रुटिबारे जानकारी गराउने र साउन २३ गते गाउँपालिकामा धर्ना र कोणसभा गर्ने बैठकले निर्णय गरेको बुझिएको छ । त्यसपश्चात् पनि समाधान नआएमा आन्दोलनरत संघर्ष समितिले स्थानीय जनताको साथमा गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गर्ने कार्यक्रम रहेको एमाले इन्चार्ज चुडालले बताए ।

हल्दिबारी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा वैज्ञानिक विधि नअपनाएको भन्दै संघर्ष समितिले तत्काल सच्याउन दुई दिनअघि ज्ञापनपत्र बुझाएको थियो । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संघर्ष समिति निर्माण गरी संयुक्त रुपमा हल्दिवारी गाउँपालिका र भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्