बिर्तामोड , साउन २१ । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग लम्पी स्किन विरुद्वको खोप लगाउन सुरु गरेको छ ।


आज वडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । लम्पी स्किन असार अन्तिम सातादेखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

सबै वडाका कृषकहरुको घर-घरमा पुगेर पशु प्राविधिकहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाएवापत कृषकहरुले प्रतिगाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिन्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ ।१५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँभन्दा बढी खर्च हुने पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ ।

लम्की स्किन रोगविरुद्व खोप उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङले लम्की स्किन सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
बिर्तामोडमा लम्पी स्किनका कारण २ हजार ५ सयभन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरीरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्