झापा, साउन २१ । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्व भाइ चौकीदार पासाङ शेर्पा (कुमार) लाई अन्यत्र सरूवा गरिएको छ ।

कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजनी र ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त बनेको थियो । लावतीलाई सरूवा नगर्ने सहमति भएपछि आन्दोलन शान्त बनेको थियोे ।

आन्दोलनपश्चात् प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गर्दा उनीहरुले चौकीदार शिवाकोटी र शेर्पालाई यहाँबाट सरूवा गर्न माग राखेका थिए । सोही मागबमोजिम चौकीदार शिवाकोटी र शेर्पालाई आईतवार दिउँसो यहाँबाट अन्यत्र पठाइएको झापा कारागारका प्रमुख मोहनलाल पनेरुले जानकारी दिए । कारागार व्यवस्था विभागको आदेशबमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको जेलर पनेरूले बताए ।

शुक्रबार करिब डेढ घण्टा आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गर्दा क्षति भएको थियोे । कैदीबन्दीले भित्रबाट ढुंगा र इँटा बर्साउँदा कारागारको नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सिसी टिभीमा क्षति पुगेको जेलर पनेरुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्