झापा , साउन २५ । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् ।

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए । कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन् । प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ । कैदीको मृत्यु पछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना एक वर्षदेखि यहाँको कारागारमा थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्