झापा, साउन २६ । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै गएको छ ।

साउनयता तीब्र रुपमा फैलिरहेको डेंगी संक्रमणबाट झापामा तीनजनाको मृत्यु भइसकेको छ । बिर्तामोडमा दुई र दमकमा एकजनाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । साउनको पहिलो साता बिर्तामोड– ५ की ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ । त्यस्तै साउन १९ गते डेंगी संक्रमणबाट बिर्तामोड ५ कै ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको छ । त्यस्तै डेंगी संक्रमणबाट दमकमा पनि एकजनाको मृत्यु भएको छ । साउन ९ गते पंचमुखी फर्माका संचालक ६८ वर्षिय ऋषिराज पराजुलीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा औषधी व्यवसायी पराजुलीको मृत्यु भएको उनले जानकारी दिए । झापामा संक्रमितहरु तीब्र रुपमा बढ्ने क्रममा साउन २६ गतेसम्म संक्रमितहरुको संख्या ७३९ पुगेको छ । ३१९ महिला र ४२० जना पुरुष संक्रमित भएका हुन् । त्यसमध्ये सबैभन्दा बढी संक्रमित दमकमा देखिएका छन् । दमकमा ४४४ जना संक्रमित पुगेका छन् । त्यसपछि बिर्तामोडमा डेंगी संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या १७७ पुगेको छ । त्यसपछि भद्रपुर ,बुद्धशान्ति ,मेचीनगरमा डेंगी संक्रमण देखिएको छ । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा डेंगी बढी फैलिएको हो । गौरीगञ्ज , बाह्रदशी , हल्दिवारी र कचनकवलमा डेंगी संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । जिल्लाका विभिन्न अस्पतालमा १४० जना डेंगी संक्रमित भर्ना भएका छन् । त्यसमध्ये ९९ जना निको भएर घर फर्किएको र ४१ जना उपचाररत रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए ।

झापामा डेंगीले भयावह रुप लिइरहँदा स्थानीय तहहरुले रोकथामका लागि प्रभावकारी कार्यक्रम गर्न नसकेको सर्वसाधारणले गुनासो गरेका छन् । केही पालिकाहरुले सचेतनाका कार्यक्रम संचालन गरेका छन् भने केहीले लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्य गरिरहेका छन् ।

यसक्रममा डेंगी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ४ मा खोज तथा नष्ट कार्यक्रम गरिएको छ।
डेंगी रोग नियन्त्रण र रोकथामका लागि लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने क्रममा शुक्रवार बडावारी बजार वरिपरि डेंगी सार्ने लामखुट्टे हुन सक्ने स्थान वरिपरि सरसफाई तथा जनस्तरमा यसको संक्रमण फैलन नदिन अपनाउन पर्ने सावधानीका बारेमा जानकारी गराईएको थियो।

डेंगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले घरवरिपरि सफा राख्न, खुल्ला ठाउँमा पानी भरेर नराख्न र खाल्डाखुल्डीमा जमेको पानी हटाउँदा संक्रमण फैलिने सम्भावना कम हुने जलथल स्वास्थ्य चौकीका इन्चार्ज माधवप्रसाद यादवले बताए। यसैगरी वडा अध्यक्ष सन्तकुमार थापाले वडाका सबै टोलटोलमा सचेतना कार्यक्रम गरिने बताए। हल्दिबारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य भगिरथा दाहाल, जलथल स्वास्थ्य चौकीका इन्चार्ज माधवप्रसाद यादव, जलथल प्रहरी चौकीका इन्चार्ज देवेन्द्रराज आङदेम्बे साथै स्वास्थ्यकर्मीहरु, शिक्षक, संचारकर्मी, टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्