बिर्तामोड , साउन २७ । झापाको बिर्तामोड ३ स्थित ऐतिहासिक , धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा आज बृहत सरसफाई तथा फूलरोपण गरिएको छ ।

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिद्वारा आयोजित कार्यक्रममा करिव एक दर्जन संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सरसफाई गरी फूल रोपिएको हो । कार्यक्रममा बिर्तामोड ३ नं वडा कार्यालय , अरिदमन गण चारआली ,जिल्ला ट्राफिक प्रहरी कार्यालय ,स्थानीय टोल विकास संस्था ,स्थानीय कीर्तन मण्डली ,बिर्ताबजार प्रहरी चौकी , विराट आधारभूत विद्यालयको जुनियर रेडक्रस बाल क्लब , अभियान राष्ट्रका लागि, प्रथम बहुउद्देश्यीय सहकारी संस्थाजस्ता संघसंस्थाका प्रतिनिधि र स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , वडा सदस्य हरि बास्कोटा ,अरिदन गणका सहसेनानी लक्ष्मी नेम्बाङ,सतानु सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओली , बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्कीलगायतको उपस्थिति रहेको थियो । विराटपोखरीमा सरसफाई गर्दै सयपत्री फूलका बिरुवा रोपिएको विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका सचिव जगन्नाथ भट्टराईले बताए । त्यस अवसरमा एन. वाई. ई. एफ. झापा च्याप्टरले १० थान डस्टविन वितरण गरेको छ । यसअघि विराटपोखरीमा बिर्तामोड ३ नं वडा कार्यालयको संयोजनमा बृक्षरोपण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्