द्रोण अधिकारी,
मेचीनगर । पूर्व, पश्चिम र दक्षिणतिरबाट बाक्लो बस्तीले घेरिएको झापाकै सानो वन क्षेत्रको पहिचान बनाएको खुट्टीडाँगी वनभित्र रहेको सिमसार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको छ ।


मेचीनगर–९ स्थित पूर्व–पश्चिम राजमार्गको धुलावारी चौकबाट २ किलोमिटर उत्तरमा रहेको सिमसारमा बाल उद्यान, वनभोज स्थल, पोखरी निर्माणलगायत संरचना निर्मित छन् भने वनको प्राकृतिक सौन्दर्यताले समेत पर्यटकलाई आकर्षण गरिरहेको हो ।
११.३४ हेक्टर अर्थात करिव १८ बिगाह क्षेत्रफलमा मात्र समेटिएको वन क्षेत्रमा जंगल इस्टे निर्माणको चरणमा समिति प्रवेश गरेको छ ।
वार्षिक १० लाख बजेटबाट काम गरिरहेको समितिको आफ्नो आम्दानी करिव दुई लाख मात्र रहेको छ भने स्थानीय सरकार, प्रदेश सरकारलगायत दाताको सहयोगमा संरचना निर्माण गरिरहेको अध्यक्ष टंकबहादुर नेपालले जानकारी दिए ।


अध्यक्ष नेपालले ७७. ८८ हेक्टरमा रहेको सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि रमणीय ठाउँ रहेको प्रष्ट बताए । खुट्टीडाँगी सिमसार मेचीनगरकै उत्कृष्ट गन्तव्य मध्येको एक हो भन्दै वन समूहका कार्यालय सचिव राजु धिमालले सिमसारमा भौतिक पूर्वाधार थप गरेर अझ व्यवस्थित गरिएको बताए । उनका अनुसार अब स्वीमिङ पुल र फरेस्ट इस्टे छिट्टै तयार हुने छन् । जसबाट आन्तरिक र बाह्य पर्यटकलाई थप रमणीयता र मनोरञ्जनको अवसर जुट्ने छ ।

२०५४ सालमा स्थापना भएको वन समूहले वातावरण संरक्षणका लागि पनि विविध काम गरिरहेको छ भने पर्यटकीय क्षेत्रको संरक्षणमा फड्को मार्दै गएको स्थानीयको बुझाइ छ । यस सिमसारमा प्रवेश गर्न व्यक्तिगत ३० रूपैयाँ शुल्क लाग्ने गरेको छ भने वनभोजस्थल प्रयोगका लागि पाँच सय रूपैयाँ लिने गरेको समितिले जनाएको छ ।

जैविक विविधता संरक्षण र पर्यावरणको रक्षाका लागि स्थानीयले संरक्षण गरिरहेको यो वन भौगोलिक स्वरूपमा निकै सानो देखिएता पनि हरित ग्यास उत्सर्जनमा महत्वपूर्ण मानिएको छ । यस वनको संरक्षण काठ, दाउरा र घाँस उपभोगका लागि नभएर प्रकृतिको सुरक्षाका लागि भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्