बिर्तामोड, साउन २७ । अखिल नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघ झापाले आफ्नो सेवा सुविधा बृद्धिका विषयमा अन्तरक्रिया गरेको छ ।


संघले यसअघि निजी विद्यालयका चालक र सह–चालकका बिषयमा भएका सम्झौता कार्यान्वयन गर्न मागसहित थप सेवा सुबिधाका लागि शनिवार बिर्तामोडमा छलफल गरेको हो ।

संघका झापा अध्यक्ष पदमलाल तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भुपाल सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले राजनीतिक आस्था जुनसुकै पार्टीमा भएपनि मजदुरका पेशागत हकअधिकारका लागि ट्रेड युनियन महासंघले साथ र सहयोग गर्ने बताए । ‘आन्दोलन गर्ने कसैको रहर हुँदैन’ महासंघ उपाध्यक्ष सापकोटाले भने ‘माग्दा आफ्नो हकअधिकार पाइदैन भने त्यसका लागि आन्दोलन गर्नुपर्छ ।’ उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो ब्यापार भएको बताउँदै कर्मचारीलाई सेवा सुबिधा नदिए आफ्ना हकअधिकार सुरक्षित गर्नका लागि सवै एकताबद्ध हुनुपर्ने बताए । सापकोटाले सामाजिक सुरक्षा ऐनले गरेको ब्यवस्थामा सबैलाई जोडिन आग्रह गरेका छन् । महासंघ उपाध्यक्ष सापकोटाले यदि कसैले आफ्नो हकअधिकारका लागि संगठन र आन्दोलन गर्दा जागिरबाट निष्काशन गरे त्यसको प्रतिकार ट्रेड युनियन महासंघले गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।

कार्यक्रमकी बिशिष्ट अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघकी केन्द्रीय उप–महासचिव सीता सापकोटाले निजी विद्यालयका चालक र सह–चालकलाई विद्यालयले समयानुकूल सेवासुबिधा दिन सक्दैन भने विद्यालय बन्द गर्नुपर्ने बताइन् । उनले आफ्नो हकहितका लागि सांगठनिक एकता आवश्यक रहेकाले सबैलाई एकताबद्ध भएर अगाडी बढ्न आग्रहसमेत गरिन् ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपसचिव हरि निरौला, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य जानकीप्रसाद भट्टराईलगायतले आ–आफ्नो भनाई राखेका थिए । संघका अध्यक्ष पदमलाल तामाङले चालक र सहचालकलाई संगठित हुन पत्र नै दिएकाले सवैले संगठित भएर आफ्ना हकअधिकार सुरक्षित गर्न सबैलाई आग्रह गरे ।
संघका कोषाध्यक्ष सूर्य लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्र योङहाङले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा निजी विद्यालयका चालकहरुले आ–आफ्नो समस्या प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाभरका चालक र सहचालकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्