बिर्तामोड , साउन ३० । चिकित्सकको लापरवाहीले सुत्केरी मृत्युको मुखमा पुगेपछि बिर्तामोडस्थित मनमोहन हस्पिटलले २० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

विरामी सिर्जना

साउन २७ गते प्रसूति गराउन मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्षिया सिर्जना संग्रौला मृत्युको मुखमा पुगेकी हुन् । । उनलाई साउन २७ गते बिहान ६.३५ बजे प्रसूति गराउन मनमोहन हस्पिटल ल्याइएको थियो । सोही दिन राति ९.१५ बजे मनमोहन हस्पिटलमा डेलिभरी गराई उनलाई त्यहाँबाट बिर्तासिटी हस्पिटल रेफर गरिएको थियो । बिर्तासिटी हस्पिटलको आइसियुमा सिर्जनाको गंभीर अबस्थामा उपचार भइरहेको हो । आफन्त र परिवारले मृत्यु भइसकेको बताएपनि चिकित्सकले मुटुको चाल चलिरहेको बताएका छन् ।ब्लड प्रेसर बढेपछि र अबस्था गंभीर बनेपछि मनमोहनले बिर्तासिटी रेफर गरेको भन्दै आफन्तहरु आक्रोशित बनेका थिए । मनमोहन हस्पिटलको लापरवाहीले गर्दा आफ्नीे सानिमाको छोरीको डेलिभरी अपरेसन गरेपछि अप्रेसन सफल भएपनि प्रेसर बढेर टाउकोको नसा फुटेपछि बिर्तासिटी रेफर गरेको र बिर्तासिटीमा लाँदा भेन्टिलेटरमा उपचार भइरहेको आफन्त कविता ओली मैनालीले बताइन् । हिजो साँझदेखि मनमोहन हस्पिटल तनावग्रस्त रहेको थियो ।

विवाद भएपछिको भीड

राति १२ बजे सकिएको छलफलमा अस्पताल प्रशासनले पीडित परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने , जन्मिएको नवजात शिशु(छोरी) लाई कक्षा १२ सम्म राम्रो निजी विद्यालयमा पढाइदिने र उपचारमा संलग्न चिकित्सक एकराज गौतमलाई कार्वाहीको लागि मेडिकल काउन्सिललाई आग्रह गर्नेलगायतका सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । उनले हिजो राति मौखिक सहमति भएको र आज बिहान लिखित सहमति गरिने जानकारी दिए । विवाद भएपछि हिजो साँझदेखि नै मनमोहन हस्पिटलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

(हिजो राति मनमोहन हस्पिटलमा तनाव भएपछि छलफलमा बसेका जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि र आफन्तले सिर्जनाको मृत्यु भएको र चार बुँदे सहमति भएको जानकारी दिएपछि त्यसकै आधारमा सो समाचार तयार गरिएकोमा स्रोतको गलत जानकारीका कारण समाचार गलत हुन भएकोमा क्षमा याचनासहित सच्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्