झापा , साउन ३० । लगानीयोग्य रकम (तरलता) थुप्रदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्।

कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल , कुमारी, नेपाल इन्भेष्टमेण्ट मेगालगायत बैंकले घर कर्जाका लागि विभिन्न अफर सार्वजनिक गरेका छन्। अन्य बैंक पनि यस्ता योजना ल्याउने तरखरमा छन् । बजारमा कर्जाको माग नै नहुँदा बैंकरहरू तनावमा छन्। राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ५६ खर्ब भन्दा बढी निक्षेप छ । यसमध्ये वाणिज्य बैंकहरूसँग मात्रै ४९ खर्ब ३२ अर्ब रुपैयाँ छ । निक्षेप बढ्दै जाँदा कर्जा विस्तारको अवस्था निराशाजनक छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपबाट ४८ खर्व ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट ४२ खर्व ९३ अर्व रुपैयाँ कर्जा विस्तार भएको छ। बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.५८ प्रतिशत छ । यसअनुसार बैंकहरुसँग करिव ४ खर्बभन्दा बढी रकम लगानीयोग्य छ । बैंकिङ प्रणालीमा रकम थुप्रैदै गए पनि कर्जाको माग नवढेपछि निजी क्षेत्र, बैंक तथा सरकार सबै तनावमा छन् । अर्थतन्त्र सुस्त बन्दै जाँदा मनोबल नबढेको भन्दै निजी क्षेत्रले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै आइरहेको छ । बैंकहरूले आधार दरमा ठूलो मार्जिन नै नराखी कर्जा प्रवाहका लागि विभिन्न स्किम ल्याइरहेका छन् । कतिपय बैंकको व्याजदर एकल अंकमै छ । साउनदेखि नै राष्ट्रिय वाणिज्य बैंकले ८.३४ प्रतिशतमा घर कर्जा दिइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्