बिर्तामोड, साउन ३० । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) मेची इकाइ समितिले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी संस्थाको ५४ औं स्थापना दिवस मनाएको छ ।


संस्थाले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर, खाद्यान्न वितरण, मोटरसाइकल र्याली तथा केक काटेर स्थापना दिवस मनाएको हो । संस्थाले बिर्तामोड नगरपालिकामा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा वृद्धाश्रममा रहेका ४० जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधीसमेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा डाक्टरहरु उज्जवल देव र प्रविन मण्डलले बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य परीक्षण र औषधी वितरणपछि संस्थाले वृद्धाश्रममा चामल, तेलसहितका खाद्यान्न र चप्पल सहयोग गरेको नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ मेची इकाइका अध्यक्ष विनोद राजवंशीले जानकारी दिए । स्वास्थ्य शिविरको संयोजन गर्ने जिम्मेवारी संस्थाका उपाध्यक्ष रोशन चौधरी र सहसचिव सर्वेन्द्र राजवंशीले लिएका थिए ।

स्वास्थ्य शिविरअघि संस्थाका सदस्यहरुले मोटरसाइकल र्यालीमार्फत बिर्तामोड नगर परिक्रमा गरेका थिए । संस्थाको ५४ औं स्थापना दिवसको अवसरमा केक काटेर शुभकामना आदानप्रदानसमेत गरिएको थियो । यी सबै कार्यक्रम संस्थाका अध्यक्ष बिनोद राजवंशीको अध्यक्षता, संस्थाका केन्द्रीय सचिव डुपेन्द्र रिजालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य भुपाल निरौलाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाका सहसचिव ललनकुमार झाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्