एजेन्सी । जुलाई २४ मा, एलन मस्कले ‘ट्विटर’ को नाम र लोगोलाई एक्स मा परिवर्तन गरे ।
त्यसपछि, जुलाई २६ मा, लोगोको डिजाइनमा थोरै परिवर्तनसहित ब्ल्याक एण्ड ह्वाइटमा एक्सलाई प्रस्तुत गरिएको थियो । ट्विटरको नाम एक्स राखेपछि अब कम्पनीका मालिक एलन मस्कले डोमेन परिवर्तन पनि गर्न थालेका छन् । यद्यपि, यो परिवर्तन अहिले एप्पल प्रयोगकर्ताहरूको लागि मात्र छ । आइओएस प्रयोगकर्ताहरूका लागि, युआरएल अब एक्स डट कमबाट जेनेरेट भइरहेका छन् । यसअघि युआरएलमा ट्विटर डट कम देखिन्थ्यो तर अब आइओएस प्रयोगकर्ता आफ्नो आइफोन वा आइप्याडमा एक्स एपमर्फत् कुनै पोस्ट सेयर गरिरहेका छन् भने युआरएलमा एक्स डट कम देखिएको छ । हुन त डोमेनमा परिवर्तन अहिले आइओएस प्रयोगकर्ताका लागि मात्रै भएपनि वर्जको रिपोर्ट अनुसार एन्ड्रोइड र वेबका लागि पनि लागू हुनेछ ।
भिडियो र भोइस कलको सुविधा छिट्टै उपलब्ध हुने
यस बाहेक, एक्सकी मुख्य कार्यकारी अधिकारी लिन्डा याकरिनोले प्रयोगकर्ताहरूले चाँडै आफ्नो फोन नम्बर साझा नगरी अडियो र भिडियो कलहरू गर्न सक्नेछन् भनेर पुष्टि गरेकी छिन् । सिएनबीसीसँगको कुराकानीमा, लिन्डाले प्रयोगकर्ताले डायरेक्ट मेसेज (डिएम) मेनुमार्फत फोन गर्न सक्नेछन् । यस्तै, एक्सकी डिजाइन इन्जिनियर एन्ड्रिया कोनवेले नयाँ डिएम मेनुको एउटा फोटो साझा गरेकी छिन्, जसमा भोइस र भिडियो कल गर्ने विकल्प छ । भिडियो कलिङ विकल्प एक्सको डिएम मेनुको माथिल्लो दायाँ कुनामा अवस्थित छ । लिन्डाका अनुसार एक्स प्रयोगकर्ताहरूले भोइस वा भिडियो कलका लागि आफ्नो फोन नम्बर साझा गर्न आवश्यक छैन । यसका साथै, एक्सले स्प्याम कलहरू रोक्न केही प्रतिबन्धहरू लागू गर्नेछ । कम्पनी आफ्नो भिडियो र भोइस कलिङ फिचरको परीक्षणको अन्तिम चरणमा छ, र यो आगामी केही हप्तामा लाइभ हुने अपेक्षा गरिएको छ । यो सुविधा प्रिमियम ग्राहकहरूका लागि ल्याइने अनुमान गरिएको छ ।