झापा , साउन ३१ । जिल्लामा पढ्नका लागि चर्को शुल्क खेप्नुपरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले भने कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरेको छ।

यसै शैक्षिक सत्रबाट नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको हो । उक्त नगरपालिकाले कार्यविधि नै पारित गरी कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको नगरप्रमुख विमला राईले बताइन् । ‘परीक्षा व्यवस्थापन तथा शून्य शुल्क कार्यान्वयन कार्यविधि २०७९’ पारित गरेर नगरक्षेत्रभित्रका सबै मावि तहका विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको राईले सुनाइन् । ‘हामीले नगरक्षेत्रभित्रका सबै बालबालिकालाई शिक्षामा सहज पहुँच विस्तार गर्न कार्यविधि नै पारित गरेर निःशुल्क शिक्षा सुरु गरिएको छ ।’ राईले भनिन् -‘नगर क्षेत्रभित्रका १२ माविमध्ये कक्षा १२ सञ्चालन भएका १० वटै विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको हो ।’

हलेसी तुवाचुङ नगर शिक्षा शाखाका प्रमुख पदमबहादुर कार्कीका अनुसार हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाडाँको मालिकादेवी मावि, वडा नं-३ च्यास्मिटारको च्यास्मिटार मावि, वडा नं-४ बडहरेको लक्ष्मी मावि, वडा नं-५ दुर्छिमको दुर्छिम मावि, वडा नं-६ मङ्गलटारको पिपलडाडाँ देविस्थान मावि, वडा नं-७ हलेसी महादेवस्थानको महेन्द्रोदय मावि, वडा नं-८ धितुङको बुलापन्थे मावि, वडा नं-९ सल्लेको जनता मावि, वडा नं-१० अर्खौलेको सरस्वती मावि र वडा नं-११ राजापानीको ज्योति माविमा कक्षा १२ सम्म निःशुल्क शिक्षा सुरु गरिएको हो । यो भन्दाअघि कक्षा-११ र १२ पढ्नका लागि ३५ सयदेखि छ हजार रुपैयाँसम्म वार्षिक रुपमा शुल्क बुझाउँनु पर्ने वाध्यताको अन्त्य गर्दै यो वर्षदेखि निःशुल्क शिक्षा सुरु गरिएको कार्कीको भनाई छ । गत शैक्षिक सत्रमा उक्त नगरपालिकामा कक्षा-११ र १२ मा तीन सय १७ विद्यार्थी थिए । यो शैक्षिक सत्रमा कक्षा-११ मा गत वर्षको भन्दा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको कार्कीले बताए । उनका अनुसार यो वर्ष एसईई गर्नेको संख्या तीन सय ८३ जना छन् । यी सबै विद्यार्थी नगरक्षेत्रभित्रैका विद्यालयमा अध्ययन गर्ने देखिएको कार्कीले बताए । ‘घरमै पाकेको खाना खाएर कक्षा १२ सम्म पढ्न पाउँने भएका छन् ’- कार्कीले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्