झापा, साउन ३२ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ सेन्सर पास भएको छ ।

चलचित्र सेन्सर बोर्डले बिहीबार फिल्मलाई एडल्ट प्रमाणपत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लागेको छ । रत्नपार्कको वरिपरि रहने यौनकर्मीको कथामा बनेको फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा बनेको फिल्ममा गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षित लगायतको अभिनय छ । फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ । विवेक खड्काको छायाङ्कन, कोसिस क्षेत्रीको सङ्गीत, अन्जय खड्काको सम्पादन रहेको फिल्म डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्